अजाक्सको प्रशिक्षक बने जोन

काठमाडौं। डच क्लब अजाक्सले शनिबार जोन हाइटिङ्गालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
उनले यस सिजनमा इङ्लिस क्लब लिभरपुलमा प्रशिक्षक आर्ने स्लटको सहायकको रूपमा काम गरेका थिए। लिभरपुलले आर्सनललाई पछि पार्दै प्रिमियर लिगको उपाधि जितेको थियो।
उनले इटालियन प्रशिक्षक फ्रान्चेस्को फारिओलीको स्थान लिनेछन्। यस सिजनको अन्त्यतिरको खराब प्रदर्शनपछि फ्रान्चेस्कोले दुई हप्ताअघि राजीनामा दिएका थिए। हाइटिङ्गाले सन् २०२३ मा अजाक्सको अन्तरिम प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।
४१ वर्षीय हाइटिङ्गा अजाक्सकै युथ टोलीबाट हुर्किएक खेलाडी हुन्। उनले क्लबबाट १५० भन्दा बढी खेल खेलेका छन्। उनले इङ्ल्यान्डको क्लब एभर्टन पनि साढे चार सिजन जिम्मेवारी सम्हालेका थिए।
पूर्वडच राष्ट्रिय टोलीका डिफेन्डर हाइटिङ्गाले अहिले यस्तो टोलीको जिम्मा लिएका छन्, जसले इरिडिविसी लिगमा पिएसभी इन्धोभेनसँग उपाधि गुमाउँदै दोस्रो स्थानमा सिजन समाप्त गरेको थियो। अजाक्सले एक समयमा ९ अंकको अग्रता गुमाएर उपाधि हातबाट फुस्काएको थियो।
हाइटिङ्गाले भने, ‘यो जिम्मेवारी पाउँदा अत्यन्त उत्साहित छु। पछिल्ला केही वर्ष इङ्ल्यान्डमा बिताउँदा मैले धेरै सिक्ने अवसर पाएँ। डेविड मोयेस र आर्ने स्लटका साथ काम गर्दै मैले दुई ठूला क्लबमा काम हेर्न पाएँ र आफ्नो प्रशिक्षण क्षमतामा निखार ल्याउन सकें।’
हाइटिङ्गा २०२२–२३ सिजनमा वेस्टह्याम युनाइटेडमा पनि सहायक प्रशिक्षक थिए। अब उनले अजाक्सलाई पुनः शीर्षमा पुर्याउने चुनौती सम्हाल्नेछन्।
















