काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिग १ को अन्तिम दिन शनिबार उपाधि जितेको उत्सव मनाइरहँदा फ्रान्सको ऐतिहासिक क्लब सेन्ट–एटिएन लिग २ मा झरेको छ।
३८ हजार समर्थकको उपस्थितिमा घरेलु मैदान स्टाड ज्योफ्रोय–गिशारमा भएको खेलमा सेन्ट–एटिएनले टुलुजसँग ३–२ को हार बेहोरेको हो। सन् १९६० र ७० को दशकमा फ्रेन्च फुटबलमा दबदबा जमाएको सेन्ट–एटिएन अब लिग २ मा फर्किएको छ। उसँगै अंक तालिकामा पुछारमा रहेको मोन्पेलिए पनि रेलिगेसनमा परेको छ।
यसैबीच स्ट्रासबर्गविरुद्धको ३–२ को जितसँगै ले हाब्रे रेलिगेसनबाट जोगिएको छ। अब्दुलाये टुरेले इन्जुरी समयमा पानेन्का स्टाइलमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो। उनले दुई गोल गरे। ले हाब्रे रिम्सभन्दा माथि उक्लिएर शीर्ष डिभिजनमै रहने निश्चित भयो।
अब रिम्सले प्लेअफ खेल्नुपर्नेछ। उसले दोस्रो डिभिजनको मेट्जसँग दुई चरणको प्लेअफ खेल्नेछ। मेट्जले डुन्केर्कलाई पराजित गर्दै प्लेअफ स्थान सुरक्षित गरेको हो।
पेरिसमा पिएसजीले आफ्नो उपाधि विजयको उत्सव घरेलु मैदानमा औक्सेरविरुद्ध ३–१ को जितसाथ मनायो। प्रशिक्षक लुइस एनरिकले बलियो टोली मैदानमा उतारे। पहिलो हाफमा औक्सेरले लसिन सिनाायोकोको गोलमार्फत अग्रता लिएको थियो। तर, दोस्रो हाफमा ख्विचा क्वारात्सखेलियाको दुई र कप्तान मार्किन्होसको गोलले पिएसजीलाई जित दिलायो।
पिएसजीले १३ औं पटक लिग १ को उपाधि जित्दै रेकर्ड बनाएको थियो। उसले ६ खेलअगाबै उपाधि पक्का गरिसकेको थियो। अब पिएसजीको नजर इतिहासमै पहिलो पटक ट्रेबल जित्नेमा छ। उसले मे २४ मा फ्रेन्च कपको फाइनलमा रिम्ससँग खेल्नेछ भने मे ३१ मा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग भिड्नेछ।
८४ अंकसहित पिएसजीले ३४ खेलको लिग सिजनमा सबैभन्दा धेरै अंक बटुल्ने नयाँ कीर्तिमान बनायो। यसअघि १९६९–७० मा सेन्ट–एटिएनले ८१ अंक बनाएको थियो।