काठमाडौं। अर्जेन्टिनाका कप्तान लिओनल मेसी आगामी जुनमा हुने विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्। अर्जेन्टिनाको फुटबल महासंघले बिहीबार उक्त घोषणा गरेको हो।
३७ वर्षीय इन्टर मियामी स्टार मेसीले मार्च महिनामा भएको उरुग्वे र ब्राजिलविरुद्धको दोहोरो खेल गुमाएका थिए। एडडक्टर चोटका कारण अनुपस्थित भए पनि अर्जेन्टिनाले दुवै खेल जित्दै २०२६ विश्वकपका लागि छनोट पक्का गरेको थियो।
अब अर्जेन्टिनाले जुन ५ मा चिलीको मैदानमा र जुन १० मा ब्युनस आयर्समा कोलम्बियाविरुद्ध खेल्नेछ। कोलम्बिया तालिकाको छैटौं स्थानमा छ भने चिली कमजोर अवस्थामा छ।
यी दुई खेलपछि मेसी फेरि अमेरिकातर्फ फर्कनेछन्। उनले जुन १४ मा मियामीमा हुने फिफा क्लब विश्वकपको उद्घाटन खेलमा मियामीबाट इजिप्टको अल–अहलीविरुद्ध खेल्नेछन्।