काठमाडौं। क्लब विश्वकपको अहिलेसम्मकै रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै साउदी क्लब अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
ओर्ल्यान्डोमा मंगलबार बिहान सम्पन्न खेलमा हिलाल ४–३ ले विजयी भएको हो। हिलालका मार्कोस लियोनार्डोले अतिरिक्त समयको ११२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई क्वार्टरफाइनलमा पुर्याए।
खेल निकै उतारचढावपूर्ण रह्यो। सिटीका बर्नार्डो सिल्भाले खेलको पहिलो गोल गरे। तर, दोस्रो हाफको सुरुआतमै खेल पूर्ण रूपमा बदलियो। लियोनार्डो, माल्कम र एर्लिङ हालान्डले छोटो समयमै गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए। योसँगै खेल अतिरिक्त समयमा प्रवेश गर्यो।
अतिरिक्त समयमा कालिदु कुलीबालीले हेडरमार्फत गोल गर्दै हिलाललाई अग्रता दिलाए। तर, फिल फोडेनले त्यसलाई बराबरीमा ल्याए।
अन्ततः मार्कोसले इडरसनको उत्कृष्ट बचाउपछि मिलिन्कोभिक–साभिचको प्रयासको रिबाउन्डमा गोल गर्दै हिलाललाई ४–३ को जित दिलाए।
अब हिलालले क्वार्टरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेसँग प्रतिस्पर्धा गर्नेछ। यस हारसँगै सिटीको क्लब विश्वकप यात्रा समाप्त भएको छ।