काठमाडौं। नेपाली डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्रीले भुटानी लिग खेल्ने भएका छन्।
उनलाई भुटान प्रिमियर लिग क्लब ट्रान्सपोर्ट युनाइटेडले अनुबन्ध गरेको हो। उनी मेडिकल पास भएर टोलीसँग प्रशिक्षणसमेत गरिरहेका छन्।
सन्तोषका अनुसार क्लबले उनीसँग ६ महिनाको सम्झौता गरेको हो। ‘अहिलेका लागि ६ महिनाको सम्झौता छ। लिगमा ५ खेल पनि भइसकेको छ,’ खेलपाटीसँग उनले भने।
उनले यो पहिलो विदेशी लिग हो। यसअघि उनले फ्रेन्ड्स क्लब र चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिग खेलिसकेका छन्। यस्तै, स्पोर्टिङ इलाम डे मेची एफसी र यो संस्करण ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए। उनी तेस्रो संस्करणमा उदयीमान खेलाडी घोषित भएका थिए।
ट्रान्सपोर्ट युनाइटेड हाल भुटान प्रिमियर लिगमा तेस्रो स्थानमा छ। ५ खेल खेलेको ट्रान्सपोर्ट युनाइटेडले ४ जित र १ हारसहित १२ अंक बटुलेको छ।