काठमाडौं। शेफिल्ड युनाइटेडका मिडफिल्डर हम्जा चौधरीलाई राष्ट्रिय टोलीमा भित्र्याइसकेको बंगलादेशले शमित शोमे र कुबा राउल मिचेललाई पनि ल्याउने तयारी थालेको छ।
बंगलादेश फुटबल फेडेरेसन (बिबिएफ)का अनुसार कुबा मिडफिल्डर हुन्। मिचेल इङ्लिस क्लब सन्डरल्यान्ड एफसीको यु–२१ टोलीमा खेलिरहेका छन्। बिबिएफका वरिष्ठ उपाध्यक्ष इमरुल हसनका अनुसार उनले बंगालदेश फर्किन सकारात्मक संकेत देखाएका छन्।
‘हामीले शनिबार कुबासँग कुराकानी गरेका थियौं र उनले हाम्रो प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन्। हामी एक–दुई दिनभित्र उनको निश्चित जवाफको अपेक्षा गरिरहेका छौं। यदि उनले सहमति जनाए भने हामी उनलाई जुनमा सिंगापुरविरुद्धको खेलका लागि टिममा समेट्न सक्नेछौं,’ इमरुलले भने। उनकाअनुसार कुबालाई बंगलादेशबाट खेलाउने प्रक्रिया खासै जटिल हुने छैन। उनले अहिलेसम्म कुनै पनि राष्ट्रिय टोलीबाट खेलिसकेका छैनन्।
सन् २००५ मा इङ्ल्यान्डमा जन्मिएका कुबाका आमा बंगलादेशकी र बुबा जमैकन हुन्। उनीसँग इङ्ल्यान्ड, बंगलादेश वा जमैका जुनसुकै देशको लागि खेल्ने विकल्प छ। विगत केही वर्षदेखि जमैकाले उनलाई आफ्नो टोलीमा भित्र्याउने प्रयास गरिरहेको थियो। तर, शुक्रबार राति बेलायती वरिष्ठ फुटबल पत्रकार पिट ओ’रुर्कले गरेको एउटा ट्वीटले नयाँ तरंग ल्यायो।
ट्वीटमा उनले कुबाले बंगलादेशबाट खेल्ने प्रतिबद्धता जनाइसकेको दाबी गरेका छन्। कुबाका एजेन्ट ‘डोमिनान्स स्पोर्ट्स ग्रुप’ द्वारा सामाजिक सञ्जालमा गरिएको पोस्टले यो अड्कललाई अझ बलियो बनाएको हो। अब सबैको ध्यान कुबाको आधिकारिक निर्णयतर्फ केन्द्रित छ। उनी भित्रिए बंगलादेश राष्ट्रिय फुटबल टोलीको मिडफिल्ड थप बलियो हुनेछ।
शोमेले भने क्यानडाको उमेर समूह र सिनियर राष्ट्रिय टोलीमा समेत खेलिसकेका छन्। यद्यपि, उनले क्यानडाको सिनियर टोलीबाट अन्तिमपटक सन् २०२० मा खेलेका थिए। बिबिएफका उपाध्यक्ष फाहाद करिमले भने, ‘हामीले शमितसँग सम्पर्क गरेका थियौं। उनले आफूले आफ्नो प्रशिक्षक र अन्यसँग परामर्श गर्न दुई हप्ताको समय मागेका छन्।’
२७ वर्षीय मिडफिल्डर शमित पहिले बंगलादेशबाट खेल्न अलिक अनिच्छुक देखिएका थिए। तर, हम्जाको आगमनपछि उनले आफ्नो विचार परिवर्तन गर्न सक्ने संकेत देखिएको छ। विदेशी सिनियर खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्दा प्रक्रिया लामो हुनेछ। तर, बिबिएफ अहिले विश्वका विभिन्न शीर्ष लिगमा राम्रो स्तरमा खेलिरहेका युवा खेलाडीहरू पहिचान गर्नमा केन्द्रित छ।
‘हामी स्थानीय होस् या विदेशी सबै प्रकारका प्रतिभालाई पहिचान गर्न प्रयासरत छौं। बिबिएफका प्रशिक्षकहरू वर्षभरि नै बंगलादेशभित्र प्रतिभा खोजिरहेका हुन्छन्। अहिले हामी पहिलोपटक विदेशमा रहेका खेलाडीहरूतर्फ पनि पुगिरहेका छौं,’ करिमले भने। बिबिएफले जुन महिनाको अन्त्यतिर युरोप र उत्तर अमेरिकाबाट आएका झण्डै ३० खेलाडीका लागि चारदेखि पाँच दिन लामो ट्रायल आयोजना गर्ने तयारी पनि गरेको छ।
‘यी खेलाडीहरू सबै १६ देखि २० वर्ष उमेर समूहका छन् र उनीहरूले आ–आफ्ना देशका दोस्रोदेखि चौथो श्रेणीका लिग खेलिरहेका छन्। ट्रायलपछि प्राविधिक समितिले अगाडि के गर्ने भन्ने निर्णय लिनेछ। अधिकांश खेलाडीहरू युरोपबाट छन्, तर केही उत्तर अमेरिकाबाट पनि छन्,’ करिमले भने।