काठमाडौं। बिहीबारको बिहान इन्टर मियामीका लागि दुःखदायी रह्यो। लिओनल मेसीको टोलीलाई ३–१ ले हराउँदै भ्यानकुभर ह्वाइटक्याप्स कन्काकाफ च्याम्पियन्स कपको फाइनलमा प्रवेश गर्न सफल रह्यो। योसँगै मेसी निराश मुद्रामा मैदानबाट बाहिरिए।
दोस्रो लेगको यस हारसँगै मियामी समग्रमा क्यानाडियन टोलीसँग ५–१ को पराजित भएको हो। र, खेल हेर्ने जो–कोहीलाई यो स्कोरलाइन पूर्णतः न्यायोचित लाग्यो। मेसी वरिपरि बनाइएको मियामी टिममा लुइस सुआरेज, सर्जियो बुस्केट्स र जोर्डी आल्बाजस्ता बार्सिलोनाका पूर्वखेलाडी छन्।
यी खेलाडीलाई मुख्य रूपमा दक्षिण अमेरिकी ‘जर्निम्यान’ खेलाडीले सहयोग गरिरहेका छन्। तर, ती सबै सन्न्यासनजिक पुगेका खेलाडीले युवाले भरिएका भ्यानकुभरसँग प्रतिस्पर्धा गर्न सकेनन्। गत वर्ष मियामीले अमेरिकन सकर लिग (एमएलएस)मा उत्कृष्ट प्रदर्शन गर्दै सपोर्टर्स सिल्ड जितेको थियो।
तर, यस वर्ष ‘वृद्ध बार्सिलोना टोली’लाई फेरि निरन्तरता दिने निर्णय गलत साबित भयो। ३८ वर्षीय सुआरेजले गत सिजन मेसीसँगै २० गोल गरेका थिए। अहिले उनी मैदानमा चल्नै सक्दैनन्। बुस्केट्स आफ्नो पुरानो उत्कृष्ट फर्मबाट धेरै तल झरेका छन्। जोर्डी आल्बा अझै आक्रामक रूपमा असरदार भए पनि रक्षात्मक जिम्मेवारी पूरा गर्न बेवास्ता गरिरहेका देखिन्छन्।
मेसी अझै केही जादू प्रस्तुत गर्न सक्ने अवस्थामा छन्। तर, उनी ३७ वर्षका भइसकेका छन्। उनीसँग दौडिन सक्ने जोशिला र युवा खेलाडी मियामीमा आवश्यक छ। तर, उनीसँग उमेर पुगिसकेका पुराना साथीहरू मात्रै छन्। मुख्य प्रशिक्षक जेभियर माश्चेरानो मेसीका अर्का पुराना साथी हुन्। उनले पनि युवा खेलाडीहरूलाई बेन्चमै राखेर गल्ती गरे। भ्यानकुभरले मैदानको खुला भागलाई सहजै प्रयोग गर्दै गोल गरिरह्यो।
‘दौडिन सक्दैनन्, डिफेन्ड गर्न सक्दैनन्’
फक्स टेलिभिजनका पण्डित वारेन बार्टनले भने,‘भ्यानकुभरलेमियामीको कमजोरी देखायो। त्यो भनेको मियामीका खेलाडी दौडिन सक्दैनन्, डिफेन्ड गर्न सक्दैनन्। टिममा सन्तुलन छैन। पाँच खेलाडी अगाडि बस्छन्, बाँकी पाँचले डिफेन्ड गर्ने प्रयास गर्छन्, तर सक्दैनन्।’
भ्यानकुभरका ड्यानेमार्केली प्रशिक्षक यास्पर सोरेन्सेनले खेलपछि कूटनीतिक रूपमा प्रतिक्रिया दिए। तापनि केही कुराहरू निकै सिधा थिए। ‘हाम्रो टिम उमेरमा जवान छ र उच्च गति र इन्टेन्सिटीमा खेल्न सक्षम छ। दोस्रो हाफको सुरुमै हामी बलियो रूपमा अघि बढ्यौं। उनीहरूको केही खेलाडी अगाडि बसिरहेकाले मैदान खुला थियो र हामीले त्यही मौका सदुपयोग गर्यौं,’ उनले भने।
मियामीका फ्रन्टलाइनका खेलाडी डिफेन्ड गर्न फर्किएनन्, जुन रणनीति यस्ता ऊर्जा भरिएका टोलीहरूसँग काम गर्दैन। माश्चेरानोले अब ध्यान एमएलएसमा केन्द्रित गर्ने बताएका छन्। तर, जुन महिनामा सुरु हुने फिफा क्लब विश्वकप नजिकिँदैछ। यो प्रतियोगितामा मियामीले इजिप्टको अल अहली, पोर्चुगलको पोर्टो र ब्राजिलको पालमेइराससँग खेल्नेछ।
यदि मियामीले भ्यानकुभरसँग देखाएको प्रदर्शन दोहोर्यायो भने विश्व रंगमञ्चमा लज्जास्पद पराजयको सिकार बन्नेछ। ‘युरोपका रिटायर्ड खेलाडीहरूको आश्रयस्थल’ भन्ने ‘ट्याग’ हटाउन एमएलएसले वर्षौंदेखि मिहिनेत गरेको छ। तर, मियामीको यस्तो कमजोरीले त्यो प्रयासमाथि नै प्रश्नचिन्ह उठाउन सक्छ।
मेसीको आगमनले एमएलएसलाई नयाँ उचाइमा पुर्याउने भनिएको थियो। तर, अहिले कमजोर योजना र ‘नमिल्ने’ टोली संरचनाले मियामीको त्यो सपना ध्वस्त हुने संघारमा छ। यो तथ्य भ्यानकुभरले बुधबार स्पष्ट देखाइसकेको छ।