काठमाडौं। प्रज्जवल गुरुङको दुई गोलसँगै अन्नपूर्ण क्लब (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन जोन छाडेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आरसिटीले सरस्वती युथ क्लबलाई ४–३ ले पराजित गरेको हो। यो नतिजासँगै नौ खेलमा आठ अंक पुर्याएको आरसिटी १२औं स्थानमा उक्लिएको छ।
पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ पुछारमा झरेको छ। आरसिटीको जितमा प्रज्जवलबाहेक अजित गुरुङ र साजन पाख्रिनले समान एक गोल थपे। सरस्वतीका विशेष लामा, सन्देश खत्री र नरेशकुमार खत्रीले गोल गरे पनि जित दिलाउन सकेनन्।
३६औं मिनेटमा विशेषको गोलमार्फत सरस्वतीले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता सरस्वतीले चार मिनेट पनि टिकाउन सकेन। अजितले गोल गरेसँगै आरसिटी खेलमा फर्कियो।
५३औं मिनेटमा सन्देशले गोल गर्दै सरस्वती पुन: २–१ को अग्रता दिलाए। ६५औं मिनेटमा प्रज्जवलले गोल गर्दै आरसिटीलाई बराबरीमा ल्याए।
त्यसको दुई मिनेटपछि नै साजनले आरसिटीका लागि तेस्रो गोल गरे। ६७औं मिनेटमा प्रज्जवलले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे। योसँगै आरसिटीको अग्रता ४–२ मा पुगेको थियो।
इन्जुरी समयमा नरेशले गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यसपछि सरस्वती खेलमा फर्किन सकेन।