पोखरा। इरानी टोलीले प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार भएको उद्घाटन खेलमा इरानी टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको इरानी टोली दोस्रो सेटमा पछि पर्यो।
प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपिएफले ३१–२९ ले इरानी टोलीलाई हरायो। २९–२९ को अवस्थामा रहेको बेला लगातार दुई अंक ल्याउँदै एपिएफले ३१–२९ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो सेट र चौथो सेटमा इरानी टोलीले पुनरागमन गर्दै ३–१ सेटमा जित निकाल्यो। इरानी टोलीले एपlएफलाई तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले पराजित गरेको हो।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन्। भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन्।
दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल बैशाख २२ गते हुनेछ।