काठमाडौं। रियल मड्रिडले नयाँ सिजनदेखि टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जाभी अलोन्सोलाई दिने निर्णय गरेको छ। अलोन्सोले हाल जर्मन क्लब बायर्न लेभरकुजेन सम्हालिरहेका छन्।
स्पेनिस प्रशिक्षक अलोन्सोलाई ल्याउन रियलले लेभरकुजेनलाई आठ मिलियन युरो क्षतिपूर्ति तिर्नेछ। यससँगै अलोन्सोले रियलसँग तीन वर्षे सम्झौतामा हस्ताक्षर गर्ने छन्।
आलोन्सोले सन् २०२२ देखि लेभरकुजेनको प्रशिक्षण सम्हाल्दै आएका छन्। उनीसँगको हालको सम्झौता सन् २०२६ को समरसम्मको थियो। तर, रियलले यो समरको ट्रान्सफर विन्डोमै उनलाई भित्र्याउन सबै औपचारिक प्रक्रिया पूरा गरिसकेको छ।
अलोन्सो रियलका पूर्वखेलाडी हुन्। उनले क्लबसँग थुप्रै उपाधि जितेका छन्। प्रशिक्षकको रूपमा उनको पुनः आगमनलाई समर्थकहरूले निकै हर्षका साथ स्वागत गरेका छन्।
हालका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी सिजनको अन्त्यमा रियल छोड्नेछन्। त्यसैले रियलको व्यवस्थापनले टिमको भविष्य अलोन्सोलाई जिम्मा दिने निर्णय लिएको हो।