काठमाडौं। बागमती युथ क्लब एन्फा महिला लिगको शीर्ष पाँचको होडमा फर्किएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार संकटा फुटबल क्लबलाई ३–१ ले पराजित गरेपछि बागमतीले शीर्ष पाँचमा पुग्ने सम्भावना कायम राखेको हो।
यो हारले लिगमा शीर्ष पाँचमा पर्ने संकटाको सम्भावना लगभग समाप्त भएको छ। अन्तिम खेलमा शीर्ष पाँचमा स्थान सुरक्षित गरिसकेको नेपाल पुलिससँग खेल्न बाँकी रहेको संकटाको आठ खेलबाट आठ अंक छ।
संकटाभन्दा अगाडि बागमती, कोशी प्रदेश र वालिङ नगरपालिका छन्। बागमतीले १०, कोशीले ११ र वालिङले १२ अंक जोडेका छन्। उनीहरूले पनि संकटाजस्तै एक खेल खेल्न बाँकी छ। यही खेलबाट तीन विभागीय टोलीबाहेक शीर्ष पाँचमा अटाउने दुई टोलीको टुंगो लाग्नेछ।
गिफ्टी अचेम्पोङले दुई गोल र एक एसिस्ट प्रदान गर्नै बागमतीलाई लिगमा फर्काएकी हुन्। गिफ्टीले ६८औं मिनेटमा सुरुआती अग्रता दिलाइन्। सुनीता भुलानले दिएको बललाई पेनाल्टी बक्सभित्र रहेकी उनले जाली चुमाउँदै गोल गरिन्। त्यसको आठ मिनेटपछि उनले साहरा लिम्बूले दिएको बललाई एक्लो प्रयासमा जाली चुमाइन्।
तेमिलोपे जेनिफरले ८३औं मिनेटमा गोल गर्दै संकटाको संकट टार्ने प्रयास गरेकी थिइन्। ममता पुनले उपलब्ध गराइदिएको थ्रु बललाई जेनिफरले गोलमा परिणत गरेकी हुन्। तर, इन्जुरी समयमा सातौं मिनेटमा पुष्षाकुमारी खड्काले गोल गर्दै बागमतीलाई ३–१ को जित र तीन अंक दिलाइन्। उनी दुई मिनेटअघि मात्रै अस्मिता खवासको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। उनलाई यो गोलको अवसर पनि गिफ्टीले मिलाइदिएकी हुन्।
अब संकटाले पुलिससँग जित्ने मात्रै होइन, अन्य टोलीको नतिजा पनि भर पर्नुपर्ने हुन्छ। अन्तिम चरणमा बिहीबार पहिलो खेलमा वालिङले बाहिरिसकेको चन्द्रपुरसँग खेल्ने छ। सोही मैदानमा कोशी र सुदूरपश्चिम प्रदेश एकअर्काविरुद्ध उत्रिने छन्।
यो खेलमा वालिङ र कोशीले जित हासिल गरे एपिएफसँग खेल्नुअघि नै बागमति बाहिरिने छ। मंगलबार आर्मीसँग ८–० को फराकिलो हार बेहोरेको वालिङले पुन चुके बागमती जितको आशसहित मैदान उत्रिनेछ। अर्कोतर्फ यीमध्ये कुनै दुई टोलीले मात्रै राम्रो नतिजा हासिल गरे संकटाको गणितिय सम्भावना पनि एक खेलअगावै समाप्त हुनेछ।