काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री आठ महिनापछि मैदान फर्किएका छन्।
घुँडाको लिगामेन्ट (एसिएल) चोटका कारण उनी आठ महिनासम्म मैदान बाहिर बसेका थिए। तर, मंगलबार बोर्नमाउथविरुद्धको खेलमा उनी पुनः मैदान फर्किएका हुन्।
सेप्टेम्बरमा शल्यक्रिया गराएपछि रोड्रीले यस सिजनका बाँकी सबै खेल गुमाउने अनुमान गरिएको थियो। तर, उनले सिटीले बोर्नमाउथविरुद्ध ३–१ को जित निकालेको खेलमा बेञ्चबाट मैदान प्रवेश गर्दै पुनरागमन गरे।
योसँगै उनले अर्को महिना अमेरिकामा सुरु हुने क्लब विश्वकप खेल्न सक्ने सम्भावना बलियो देखिएको छ। रोड्रीले अन्तिम पटक गत सेप्टेम्बर २२ मा आर्सनलविरुद्ध २–२ को बराबरी खेलेका थिए। त्यही खेलमा उनी घाइते भएका थिए।
एसिएल चोट निको हुन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ। रोड्रीको मेनिस्कसमा पनि क्षति पुगेको थियो। तर, उनी पछिल्लो केही हप्तादेखि प्रशिक्षणमा फर्किसकेका थिए।
उनी मैदान बाहिरि रहँदा सिटीको सिजन नै बिथोलिएको थियो। लिग उपाधि नयाँ वर्षभन्दा पहिल्यै गुमाएको टिमले शनिबार क्रिस्टल प्यालेससँगको एफए कप फाइनल हार्दै सन् २०१७ यता पहिलोपटक उपाधिविहीन सिजन सक्काएको छ।
सिटीलाई अब क्लब विश्वकप जित्ने अवसर छ। यो सिजन चोट लाग्नुअघि रोड्रीले सिटीबाट जम्मा तीन खेल मात्र खेलेका थिए। उनी गत अक्टोबरमा विश्वकै उत्कृष्ट पुरुष फुटबलरको रूपमा बलोन डि’ओर विजेता बनेका थिए। त्यो बेला उनी खुट्टामा क्रच लगाएर पुरस्कार लिन पुगेका थिए।