रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै
-1763309767672.webp&w=3840&q=75)
काठमाडौं। क्रिस्टियानो रोनाल्डो अर्को विश्वकपतर्फ अघि बढ्दैछन्।
पोर्चुगलले आइतबार आर्मेनियामाथि ९–१ को फराकिलो जित निकाल्दै संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आगामी वर्ष हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।
निलम्बनका कारण पोर्टोमा भएको खेल रोनाल्डोले गुमाएका थिए। तर, उनको अनुपस्थितिमै पोर्चुगलले उनलाई कीर्तिमानी छैटौं विश्वकप खेल्ने अवसर सुनिश्चित गरिदिएको हो।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो आगामी जुनमा हुने विश्वकपको समयमा ४१ वर्षका हुनेछन्। उनले केही समयअघि दिएको अन्तर्वार्तामा यो आफ्नो अन्तिम विश्वकप हुने संकेत गरेका थिए।
यदि उनले फिटनेस कायम राखे भने प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीमा सामेल हुने अपेक्षा छ। यद्यपि, आयरल्यान्डसँग बिहीबार पोर्चुगलको २–० को पराजयमा रातो कार्ड खाँदा उनले आगामी विश्वकपमा दुई खेलसम्म निलम्बन भोग्नुपर्ने सम्भावना अझै बाँकी छ।
आयरल्यान्डविरुद्धको त्यो अनपेक्षित हारपछि समूह एफमा शीर्ष स्थान पक्का गर्न पोर्चुगललाई आर्मेनियामाथि जित आवश्यक थियो। ब्रूनो फर्नान्डेस र जोआओ नेभेसका ह्याट्रिक गोलले टोलीलाई सहज जित दिलायो।












