काठमाडौं। ओमार मर्मुसले टाढाबाट गरेको सानदार गोलले इत्तिहाद रंगशालामा मंगलबार केभिन डि ब्रुएनाको बिदाई खेललाई ओझेलमा पारिदियो।
प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३–१ ले पराजित गर्दा मर्मुसले झन्डै ३० यार्ड टाढाबाट गरेको गोल खेलको मुख्य आकर्षण बन्यो। यो जितसँगै पेप ग्वार्डिओलाको टिम लिग तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
योसँगै अन्तिम खेलअघि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने मौका आफ्नै सुनिश्चित भएको छ। ‘यो निकै महत्त्वपूर्ण जित हो। यो सिजन जे भए पनि च्याम्पियन्स लिगमा स्थान बनाउनु साँच्चिकै रमाइलो हुनेछ,’ ग्वार्डिओलाले भने।
१० वर्षसम्म उपाधि सफलताको यात्रा पूरा गरेका बेल्जियमका खेलाडी ब्रुएना क्लबबाट यस सिजनको अन्त्यमा बिदा हुँदैछन्। उनको यो सिटीका लागि अन्तिम घरेलु खेल थियो।
स्टेडियममा ‘किङ केभ’ लेखिएको ठूलो ब्यानरसहित उनलाई स्वागत गरिएको थियो। दोस्रो हाफमा उनी प्रतिस्थापन हुँदा समर्थकहरूले उभिएर ताली बजाएर बिदाई गरेका थिए। तर, खेलको १४औं मिनेटमा मर्मुसले प्रहार गरेको डिपिङ सट पोस्ट छोइ टप कर्नरमा लागेर भएको गोल नै सबैको ध्यान तान्ने क्षण बन्यो।
त्यो गोल यति सुन्दर थियो कि ब्रुएनाले आफ्नो करिअरमा गरेका उत्कृष्ट गोलहरूसँग तुलना गर्न सकिन्छ। ब्रुएनाले आफ्नो बिदाईमा गोल गर्ने सुवर्ण अवसर पाएका थिए। तर, नजिकैबाट खाली पोस्टमा उनले प्रहार गरेको बल बारमा ठोक्कियो।
‘एकदमै नराम्रो मिस,’ उनले आफ्नै गोल विफलताको बारेमा भने, ‘कुनै बहाना छैन। आज मेरो छोरो मलाई निकै गाली गर्नेछ।’ सिटीका लागि दोस्रो गोल ३८औं मिनेटमा बर्नार्डो सिल्भाले गरे। वैकल्पिक खेलाडी निको गन्जालेजले ८९औं मिनेटमा तेस्रो गोल थपे। बोर्नमाउथका लागि डेनिएल जेबिसनले इन्जुरी समयमा सान्त्वना गोल फर्काए।
खेलमा दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड पाएपछि मैदानमा १०–१० खेलाडी मात्रै रहेका थिए। शनिबार क्रिस्टल प्यालेससँग एफए कप फाइनल हारको चोटपछि सिटीले यो जितसँगै पुनः लय समातेको छ।
अब अन्तिम खेलमा फुलह्यामविरुद्ध एक अंक जोड्न सके सिटीले च्याम्पियन्स लिगको स्थान सुनिश्चित गर्न सक्छ। सिटी आफ्ना प्रतिस्पर्धी चेल्सी र एस्टन भिल्लाको तुलनामा गोलअन्तर निकै राम्रो छ।
आठ वर्षपछि पहिलोपटक बिना उपाधि सिजन सकिएको भए पनि सिटीले कम्तीमा युरोपको शीर्ष क्लब प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना कायम राखेको छ। तर, यो हारसँगै बोर्नमाउथको युरोपेली प्रतियोगिता खेल्ने झिनो आशा भने समाप्त भएको छ।