काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फेन्टिनो नेपाल भ्रमणमा आउने भएका छन् ।
दक्षिण एसियाली देशहरुको भ्रमणको दौरान फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउने भएका हुन् ।
इन्फेन्टिनो असोज २० गते नेपाल आउने तयारी भएका अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए ।
‘फिफा अध्यक्ष नेपाल आउने पक्का भएको छ । दक्षिण एसियाली देशको भ्रमणको दौरान उहाँ नेपाल पनि आउनुहुनेछ ।’ ती पदाधिकारीले भने ।
इन्फेन्टिनो दुई दिने भ्रमणको क्रममा नेपाल आउनेछन् । उनी २० गते नेपाल आएर २१ गते फर्कनेछन् ।
इन्फेन्टिनोको नेपाल भ्रमणको अन्य तालिका टुङ्गो लागिसकेको छैन । तर इन्फेन्टिनोको नेपाल भ्रमण अघि उनको टिमले नेपाल आएर भ्रमणको तालिका र अन्य विषयको टुङ्गो लगाउने एन्फा पदाधिकारीले बताएका छन् ।