काठमाडौं। समाज सेवा युवा क्लबलाई पेनाल्टी टाइब्रेकरमा पराजित गर्दै चित्लाङ फुटबल क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट/लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सानोगौचरण मैदानमा आइतबार भएको खेलमा समाज सेवालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चित्लाङ च्याम्पियन बनेको हो। योसँगै चित्लाङ र समाज सेवा दुवै काठमाडौं लिगमा छनोट भएका छन्।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो। टाइब्रेकरमा चित्लाङका दीपक थापा, सुनिल थापा, सुजित बूढाथोकी, सकल रेग्मी र आयुष कुमारले गोल गरे।
विकास लामा र यमन महर्जनले भने गोल गर्न सकेनन्। यस्तै, समान सेवाका अभिषेक शेर्पाली, पदमबहादुर तामाङ, रविन गुरुङ र विवश गुरुङले गोल गरे। मिलन तामाङ, मनोज कमल र ओम आलेमगरले भने गोल गर्न सकेनन्।
पहिलो सेमिफाइनलमा सामज सेवाले कुर्दन फुटबल एकेडेमीलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। दोस्रो सेमिफाइनलमा चित्लाङले भुँईखेल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गरेको थियो।