काठमाडौँ। पाकिस्तान क्रिकेटमा कप्तान परिवर्तनको मुद्दाले विवादित मोड लिएको छ। आफूले नबोलेको कुरा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले विज्ञप्तिमा लेखेको भन्दै पूर्व टी–२० कप्तान शाहिन शाह अफ्रिदीले असन्तुष्टि पोखेका छन्।
अफ्रिदीको नाम छापिएको विज्ञप्तिमा भनिएको छ, 'मलाई दिएको अवसर र म सधैँ कदर गर्नेछु। टोलीको खेलाडीको रूपमा कप्तान बाबर आजमलाई मेरो समर्थन रहने छ।'
अफ्रिदीले त्यस्तो केही नबोलेको जिकिर गर्दै आएका छन्। यसका बाबजुद जानकारीबिना पीसीबीले वेबसाइटमा उनले भनेको भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो।
पीसीबीले अफ्रिदीसँग यस विषयमा आपतकालीन छलफल गर्ने भएको छ। पीसीबी अध्यक्ष मोहसिन नकवीले पनि सोमबार उनीसँग भेट्ने बताइएको छ।
कप्तान परिवर्तनको सम्पूर्ण घटनामा अफ्रिदी आफूसँग भएको व्यवहारबाट क्रोधित थिए। पीसीबीले उनलाई प्रेस विज्ञप्ति जारी गर्न भनेको थियो। तर, उनले मानेका थिएनन्।
बाबर आजमलाई सीमित ओभरको कप्तान बनाएको केही घण्टापछि पीसीबीले प्रेस विज्ञप्ति जारी गरेको थियो। जसमा बाबरलाई आफूले पूर्ण समर्थन गर्ने र पाकिस्तानको नेतृत्व गर्नु आफ्नो लागि गर्वको कुरा भएको अफ्रिदीले बताएको उल्लेख थियो।
आफ्नो प्रतिस्थापनका बारेमा पीसीबीसँग स्पष्टता र कम्युनिकेशनको अभाव भएको अफ्रिदीको भनाइ छ। उनले परिवर्तन नै आवश्यक भए मोहम्मद रिजवान उपयुक्त पात्र हुने बताए।
'छनोट समितिका धेरै अनुभवी क्रिकेटरहरूको निर्णयबाट म छक्क परेको छु। यदि परिवर्तन आवश्यक थियो भने राम्रो विकल्प रिजवान थियो!तर अहिले निर्णय भइसकेपछि छ। त्यसैले पाकिस्तानी टोली र बाबर आजमलाई मेरो पूर्ण समर्थन र शुभकामना दिन्छु' उनले ट्वीटरमा लेखेका छन्।
अफ्रिदीलाई जसरी कप्तानबाट हटाइयो, त्यसले पाकिस्तानका दुई ठूला स्टारबीचको सम्बन्धमा तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।
बाबर र अफ्रिदीको विगतमा सौहार्दपूर्ण सम्बन्ध रहेको थियो। अफ्रिदीले गत वर्ष कप्तानीमा पर्दा बाबरको बचाउ पनि गरेका थिए। तर, अब अफ्रिदीले जसरी असन्तुष्टि व्यक्त गरेका छन्, त्यसले पीसीबीलाई क्षति गर्ने देखिन्छ। त्यसैले पीसीबीले यो विवाद कसरी समाधान गर्छ, त्यो हेर्न बाँकी छ।