काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेको ५ विकेट लिएपछि नेपालले पहिल टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि सानदार जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा नेपाल ४१ रनले विजयी भएको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो।
एसीटीका ज्याक स्मिथले सर्वाधिक ५० रन बनाए। ३३ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। काइ ब्रुन्करले ११ बलमा १ चौका र ३ छक्कासहित २७ रनको अविजित इनिङ्स खेले।
ज्याक केघ २५ रनमा आउट हुँदा अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। नेपालका सन्दीपले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए।
करण केसीले २ विकेट लिँदा रुपेश सिंह, गुल्सनकुमार झा र कुशल भुर्तेलको नाममा समान १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।
नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ६९ रन बनाए। ३८ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए। उनले २८ बलमा २ चौका र १ छक्का प्रहार गर।
मध्यक्रमका आरिफ शेखले २४ र उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान गर्दै नेपाललाई जित दिलाए। नेपालले एसीटीसँग मंगलबार नै दोस्रो अभ्यास खेल खेल्नेछ।