काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार एसएमएस फ्रेन्डसिप कपअन्तर्गत दोस्रो खेल बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि शुरू हुने छ।
एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीस्वरूप नेपालले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग टी–२० फ्रेन्डसिप कप खेलिरहेको हो।
गुजरातसँगको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो। गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
भारत भ्रमणमा निसक्नुअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड उल्भ्ससँग दुई खेलको टी–२० शृंखला खेलेको थियो।
गत सोमबार सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। गत मंगलबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा पनि ७१ रनको जित हासिल गर्दै नेपालले शृंखला २–० ले क्लिन स्वीप गरेको थियो। फ्रेन्डसिप कप खेल्न नेपाली टोली गत बिहीबार गुजरात प्रस्थान गरेको थियो।
नेपालले फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेल बुधबार पुन: गुजरातसँग खेल खेल्ने छ।
शुक्रबार बरोडासँग पुन: खेल्दै नेपालले फ्रेन्डसिप कपअन्तर्गतका समूह चरणका खेल सकाउने छ। समूह चरणमा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल चैत २५ गते हुने छ।