काठमाडौँ। नेपाल 'ए' ले तीन टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सलाई पराजित गरेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली आयरल्यान्डलाई ३ रनले पराजित गरेको हो। योसँगै शृंखला २–१ मा सकिएको छ। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।
२२२ रनको लक्ष्य पछ्याएको नेपालले २०१ रन मात्रै बनाएको थियो। दोस्रो खेलमा पनि नेपालले २२५ रनको विशाल लक्ष्य पाएको थियो। तर, नेपालले १८४ रन मात्रै बनाउन सक्यो। र, ४० रनले पराजित भयो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन मात्रै बनाउन सक्यो।
आयरल्यान्डका ग्यारेथ डेलानीले सर्वाधिक ६८ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे।
मोर्गन टपिङ ६०, रोस अडार ३१ र फिओन ह्यान्ड २२ रनमा आउट हुँदा गेभिन होई ६ रनमा अविजित रहे।
नेपालका विपिन खत्रीले सर्वाधिक ३ विकेट लिए। कमलसिंह ऐरी, नारायण जोशी र राशिद खानको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।
नेपालका आरिफ शेखले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए। ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।
राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे।
आयरल्यान्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए। लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १/१ विकेट लिए।