काठमाडौँ। क्रिकेट अस्ट्रेलियाले द्विपक्षीय शृंखला स्थगित गरेकोमा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले निराशा व्यक्त गरेको छ।
अस्ट्रेलिया सरकारलाई क्रिकेट बोर्डमा आफ्ना नीतिहरू नथोपार्न एसीबी अपिल गरेको छ। ‘बरु अस्ट्रेलिया सरकारले अन्य क्षेत्रमा क्रिकेटको विकासमा ध्यान दिनुपर्छ,’ एसीबीले विज्ञप्तिमा भनेको छ।
सरकारको सल्लाहमा मंगलबार क्रिकेट अस्ट्रेलियाले महिला अधिकारको उल्लंघन गरेको कारण अफगानिस्तानविरुद्ध तीन खेलको टी२० शृखला तटस्थ स्थानमा खेल्न अस्वीकार गरेको थियो।
यो शृखला आईसीसीको ‘फ्यूचर टूर्स’ कार्यक्रमको हिस्सा थियो। यसका बाबजुद अस्ट्रेलियाले तेस्रो पटक अफगानिस्तानविरुद्ध द्विपक्षीय शृखला खेल्न अस्वीकार गरेको हो।
अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अस्ट्रेलियाले सन् २०२१ मा अफगानिस्तानविरुद्धको टेस्ट र २०२३ मा एक दिवसीय शृखला खेल्न अस्वीकार गरेको थियो।
एक दिवसीय शृखलालाई आईसीसीले नै स्वीकृति दिएको एसीबीले बताएको छ।
‘क्रिकेट अस्ट्रेलियाको प्रतिनिधिमण्डलको पनि उपस्थित थियो र उनीहरूले पनि समयमै खेल खेल्ने सहमति जनाएका थिए। क्रिकेट अस्ट्रेलियालाई हामी पूर्ण सदस्य राष्ट्र भएको तथ्यलाई सम्मान गर्न र राजनीतिक प्रभावमा पर्नुको सट्टा वैकल्पिक समाधान खोज्न हामी आग्रह गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ।
विश्वभर क्रिकेट तटस्थ र राजनीतिबाट मुक्त हुनुपर्ने अडान एसीबीले दोहोर्याएको छ। क्रिकेटलाई राजनीतिक प्रभावबाट मुक्त राख्न वार्ताका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।