काठमाडौँ । श्रीलंकाली स्पिनर वानिन्दु हसरंगालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ।
बंगलादेशविरुद्धको शृंखलाअन्तर्गत अन्तिम एक दिवसीय खेलमा आईसीसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो।
योसँगै भरखरै सन्न्यास फिर्ता लिएर टेस्ट क्रिकेटमा फर्किएका उनले बंगलादेशविरुद्धको दुई खेल गुमाउने भएका छन्।
इनिङ्सको ३७औँ ओभरमा हसरंगाले अम्पायरको क्याप खोसेका थिए। यो कारबाहीपछि उनको म्याच फीको ५० प्रतिशत कटौती गरिएको छ। यस्तै, उनले ३ डिमेरिट अंक पाएका छन्। २४ महिनाको अवधिमा उनको कुल डिमेरिट अंक ८ पुगेको छ।
हसरंगाले सन् २०२३ अगस्टमा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए। हसरंगाले हालसम्म चार टेस्ट खेलमा १०० को औसतमा ४ विकेट लिएका छन्। पछिल्लो पटक सन् २०२१ मा घरेलु मैदानमा उनले बंगलादेशविरुद्ध टेस्ट खेलेका थिए।