काठमाडौँ। वानिन्दु हसरंगा श्रीलंकाली टेस्ट क्रिकेट टोलीमा फर्किएका छन्। बंगलादेशविरुद्ध शुक्रबारदेखि शुरू हुने दुई खेलको टेस्ट शृंखलाका लागि उनी सन्न्यास फिर्ता लिएर टोलीमा फर्किएका हुन्।
हसरंगाले सेतो बल क्रिकेटमा ध्यान केन्द्रित गर्न अगस्ट २०२३ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। अहिलेसम्म खेलेका चार टेस्टमा उनले १००.७५ को औसतमा ४ विकेट लिएका छन्। उनले आफ्नो अन्तिम टेस्ट घरेलु मैदानमा अप्रिल २०२१ मा बंगलादेशविरुद्ध खेलेका थिए।
श्रीलंकाले फास्ट बलर लाहिरु कुमारालाई टोलीमा समावेश गरेको छ। कुमाराले बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय खेलमा ४ विकेट लिएका थिए। उनले एक वर्षदेखि टेस्ट खेलेका छैनन्। अन्तिम पटक २०१८ मा उनी टेस्ट टोलीमा छनोट भएका थिए। तर, उनले प्लेइङ ११ मा स्थान बनाउन सकेनन्। पछिल्लो चार प्रथम श्रेणी खेलमा उनले २४ विकेट लिएका छन्। ३७ खेलमा २४.७९ को औसतमा उनले १५३ विकेट लिएका छन्।
टोलीको कप्तानी धनञ्जय डि सिल्भाले गर्नेछन्। अनक्याप्ड ओपनर लाहिरु उदारा टोलीसँगै छन्। तर, उनको स्थानमा दिमुथ करुणारत्ने या निशान मदुष्कालाई प्लेइङ ११ मा ल्याउने सम्भावना कम रहेको छ। ब्याटिङमा कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, दिनेश चण्डिमल र डी सिल्भा रहने निश्चित छ। सादिरा समराविक्रम विकेटकिपर ब्याट्सम्यान हुनेछन्।
प्लेइङ ११ मा अन्य चार स्थानको निर्णय भने श्रीलंकाले सिम र स्पिनको संयोजन कस्तो बनाउन चाहन्छ त्यसमा भर पर्ने छ। प्रभात जयसूर्याले डेब्यु गरेदेखि नै प्लेइङ ११ मा आफ्नो दबदबा कायम गरेका छन्। रमेश मेन्डिस स्पिन बलिङको विकल्प भएपनि जयसूर्या र हसरंगा पहिलो रोजाइ हुन सक्छन्।
श्रीलंकाले दुई फास्ट बलर खेलाउने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा कुमारा, कासुन रजिथा, विश्व फर्नान्डो र चमिका गुणसेकराबीच दुई स्थानका लागि फाइट हुन सक्ने छ। पहिलो टेस्ट शुक्रबारबाट सिलहटमा हुनेछ।
श्रीलंकाको टोली
धनन्जया डी सिल्भा (कप्तान), कुशल मेन्डिस, दिमुथ करुणारत्ने, निशान मदुस्का, एन्जेलो म्याथ्युज, दिनेश चण्डिमल, सादिरा समरविक्रमा (विकेटकीपर), कामिन्दु मेन्डिस, लाहिरु उदारा, वानिन्दु हसरंगा, प्रभात जयसूर्या, रमेश मेन्डिस, नीशान पेन्सी, कसुन रन्जिता, रमेश मेन्डिस, विश्व फर्नान्डो, लाहिरु कुमार, चमिका गुनाशेकरा।