काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ शुरू हुन केही दिन मात्र बाँकी छ। १७औँ संस्करणको पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैँग्लोरबीच मार्च २२ मा हुनेछ।
यस अवधिमा सबैको नजर चेन्नईमा हुनेछ, जो आफ्नो उपाधि रक्षा गर्ने उद्देश्य साथ प्रतियोगिताको शुरूआत गर्दैछ।
तर, आईपीएल शुरू हुनुअघि नै खेलाडीको चोटको समस्या चेन्नईले झेलिरहेको छ। यो समस्या कम हुने संकेत देखिएको छैन। यही सूचीमा थपिएका छन्, बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहमान।
श्रीलंका र बंगलादेशबीच चटगाउँमा खेलिएको तेस्रो एक दिवसीय खेलमा मुस्ताफिजुर गम्भीर चोट बोक्न पुगेका थिए। ४२औँ ओभरमा मुस्ताफिजुर बलिङ गर्न आउँदा क्र्याम्पका कारण समस्यामा परेका थिए। त्यो ओभरको अन्तिम बल बलिङ गरेपछि उनी भुइँमा ढले।
त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो। ४८औँ ओभरमा मुस्ताफिजुर फेरि बलिङ गर्न आएका थिए तर पहिलो बलमा उनलाई बलिङ गर्न समस्या देखिएको थियो।
त्यसपछि उनले छोटो रनअपका साथ बलिङ गर्ने प्रयास गरेका थिए। तर, बल वाइड गएको थियो। त्यसपछि उनले बलिङ नगर्ने निर्णय गरे। यद्यपी उनको चोटको गम्भीरता भने पुष्टि हुन सकेको छैन।
मुस्ताफिजुर चोटग्रस्त टोलीका एक्ला खेलाडी होइनन्। उनीअघि न्युजिल्यान्डका डेभोन कोन्वे र श्रीलंकाका फास्ट बलर मथिशा पाथिराना पनि घाइते छन्। श्रीलंका र बंगलादेशबीचको दोस्रो टी२० खेलमा पाथिराना ह्यामस्ट्रिङको सिकार भएका थिए।