काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको चौथो खेलमा पनि सुरुवाती ११ मा अटाएका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीप डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा टिममा परेका हुन् । रेनेगेड्सविरुद्ध हुने खेलका लागि मेलबर्नले निकालेको सुरुवाती ११ मा सन्दीप परेका छन् । अघिल्ला तीन खेलमा उच्च प्रदर्शन गरेको कारण सन्दीप पहिलो रोजाईमा परेका हुन् ।
चौथो खेलमा सन्दीपको टिमले ब्याट फ्लिप जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको मेलबर्न स्टार्सले तेस्रो खेलमा जित निकालेको थियो । मेलबर्न स्टार्स ३ खेलबाट २ अंक जोडेर लिगको छैटौं स्थानमा छ । ३ खेलबाट ४ अंक जोडेको मेलबर्न रेनेगेड्स दोस्रो स्थानमा छ ।

सन्दीपले बिग बासको तीन खेलमा ७ विकेट लिईसकेका छन् । सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर २ विकेट लिएका थिए ।
चौथो खेलपछि भने सन्दीप मेलबर्नको टिममा हुने छैनन् । सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् । सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्ने छन् ।