काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको दोस्रो खेलमा मेलबर्न होबर्ट हरीकेन्ससंग ६ विकेटले पराजित भएको हो ।
मेलबर्नले दिएको १५६ रनको लक्ष्य होबर्टले १८ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । होबर्टका म्याथ्यु वेडले अर्धशतकीय इनिङस खेल्दै ५२ रन बनाए । यस्तै जोन म्याथु सर्टले ३४ तथा बेन्जामिन म्याकडेरमोटले २८ रन जोडे ।
मेलबर्नका सन्दीपले ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । हरीकेन्सविरुद्ध किफायती बलिङ गरेका सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् ।

सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक एक विकेट लिएका थिए । पहिलो ओभरमा एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गर्दै पेभेलियन फर्काएका थिए । यस्तै तेस्रो ओभरमा सन्दीपले होबर्टका अर्धशतक बनाउने वेडलाई सन्दीपले क्याच आउट गराए । त्यस्तै चौथो ओभरमा सन्दीपले बेन्जामिनलाई एलबिडब्लुको शिकार बनाएका थिए ।
सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिन सफल भईसकेका छन् । यसअघि सन्दीपले डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिएका थिए ।

यसअघि ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ४७ तथा निक लार्किनले ४५ रन जोडे । होबर्टका जोफ्रा आर्चरले ३ तथा जोन सर्टले २ विकेट लिए ।
यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डरसंग डकवर्थ लेविस (डीएल) पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो । होबर्ट यो लगातार दोस्रो जित हो ।