काठमाडौं। जोब बेलिङघामले क्लब विश्वकपको क्वार्टरफाइनलमा दाजु जुड बेलिङघामविरुद्ध खेल्ने ऐतिहासिक अवसर गुमाएका छन्।
मोन्टेर्रेविरुद्धको जितमा पहेंलो कार्ड पाएपछि बोरुसिया डर्टमुन्डका युवा मिडफिल्डर जोब एक खेलको प्रतिबन्धमा परेका हुन्।
डर्टमुन्डले आगामी शनिबार मेटलाइफ स्टेडियममा रियल मड्रिडको सामना गर्नेछ। तर, जोबले यस खेलमा हुने छैनन्। यसअघि उनले समूह चरणमा उल्सान एचडीविरुद्ध पनि पहेंलो कार्ड पाएका थिए। जसले गर्दा उनी अब एक खेलको प्रतिबन्धमा परेका हुन्।
यो खेल बेलिङघाम परिवारका लागि अत्यन्त गर्वको क्षण बन्ने सम्भावना थियो। जसमा दुई दाजुभाइ जोब र जुड एकअर्काविरुद्ध युरोपेली क्लब प्रतिस्पर्धामा उत्रिने थिए। बर्मिङहमको एकै एकेडेमीबाट हुर्किएका यी दुवै दाजुभाइ अहिले शीर्ष क्लबमा चम्किरहेका छन्।
जुड बेलिङघामले सन् २०२० मा १७ वर्षको उमेरमा बर्मिङहम सिटीबाट डर्टमुन्ड यात्रा थालेका थिए। डर्टमुन्डमा तीन वर्ष खेलेपछि उनी रियल पुगेका थिए। उनी स्पेनी ला लिगा र च्याम्पियन्स लिग विजेता बनिसकेका छन्। साथै इङ्ल्यान्डका मुख्य खेलाडीसमेत हुन्।
जोबले पनि बर्मिङहमबाट यात्रा थालेका हुन्। उनी सन् २०२३ मा सन्डरल्यान्डमा अनुबन्ध भए। त्यहाँबाट क्लबलाई प्रिमियर लिगमा उकास्न सहयोग गरे। त्यसपछि उनले ठीक जुडको बाटो पछ्याउँदै डर्टमुन्डसँग गत महिना सम्झौता गरेका थिए।
जोबले डर्टमुन्डमा छिट्टै प्रभाव पार्न सफल भएका छन्। क्लब विश्वकपमा डेब्यु गरेका उनले मामेलोदी सन्डाउन्सविरुद्ध पहिलो गोल पनि गरेका छन्।
क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउँदा रियलले युभेन्टसलाई १–० ले हरायो। डर्टमुन्डले मोन्टेर्रेलाई २–१ ले पराजित गरेको थियो। तर, अब बेलिङघाम परिवारका लागि खेल मैदानमा दुई छोरालाई आमनेसामने देख्ने सपना केही समयका लागि रोकिएको छ।