काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग क्रिकेट ईपीएलको पुरस्कार राशीको असन्तुष्टि जनाएका छन् । प्रतियोगिता सकिए लगत्तै पत्रकार सम्मेलन गरेर कप्तान खड्काले प्रतियोगिताको बिषयमा आफ्नो धारणा सार्वजनीक गरेका हुन् ।
‘क्रिकेटको बिषयमा कुरा गर्दा धेरै राम्रा खेलाडी आए । ठुला नामका विदेशी खेलाडी सहभागि भए । धेरै युवा खेलाडीले आफुलाई प्र्रमाणित गरे ।’ उनले भने, ‘तर व्यस्थापन र पुरस्कार राशी अझ बढी हुन सक्थ्यो ।’
प्रतियोगिताको समग्र आयोजनाबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै कप्तान खड्काले सबै भन्दा ठुलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिताको पुरस्कार राशी निकै थोरै भएको बताए ।
आयोजक एभरेस्ट प्रिमियर लिग प्रा लिले अन्तिम समयमा आएर मात्र पुरस्कार राशीको घोषणा गरेको थियो । आयोजकले प्रतियोगिताको विजेतालाई २५ लाख र उपविजेताले १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
सबै भन्दा ठुलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता दाबी गरिएपनि त्यो अनुसारको पुरस्कार रकम नराखिएको कप्तान पारसको गुनासो थियो । ‘मैदान भित्र कुनै समस्या छैन । तर बाहिर अझ राम्रो हुन सक्थ्यो ।’ उनले भने, ‘म्यान अफ दी सिरिजले मात्र एक बाईक पायो । व्यवस्थापन अझ राम्रो हुन सक्थ्यो ।’