काठमाडौं । राजधानीमा जारी तेस्रो संकरणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल भोली (शनिबार) हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा भिड्दै छन् दुई फ्रेन्चाईज क्लब - भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स ।
दुई टोलीबीचको खेल अपरान्ह १२:३० मा सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवैको लक्ष्य हुनेछ, उपाधि चुम्ने ।
साबिकको उपविजेता समेत रहेको भैरहवा नेपाली राष्ट्रिय टोलीका सदस्य शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछ । ललितपुर नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा हुनेछ ।
संयोग, दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराएर उपाधि नजिक पुगेका हुन् । त्यसैले दुवै टोली फाइनलका लागि प्रतिस्पर्धा गर्दा पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
'हामीले अघिल्ला खेलमा जस्तो तयारी गरेका थियौं । फाईनलमा पनि त्यहीँ हुनेछ,' ललितपुरसंगको खेल अघि भैरहवाका कप्तान शरदले भनेका छन्, 'फाइनल खेल आतुर छौं ।'
यस संस्करणको लिग चरणमा तेस्रो स्थानमा रहदै भैरहवाले प्ले अफमा स्थान बनाएको थियो । त्यसपछि इलिमिनेटरमा भैरहवाले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । क्वालिफायरमा भैरहवाले काठमाडौंलाई स्तब्ध बनाएको थियो ।
यता, ललितपुर भने लिग चरणमा शीर्ष स्थानमा रहदै सिधै पहिलो क्वालिफायरमा पुगेको थियो । र, ललितपुरले काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
भैरहवाविरुद्ध ललितपुर अघिल्ला खेलको लयलाई कायम राख्ने योजनमा छन् ।
'हामी जुन तरिकाले खेल खेलिरहेका छौ । त्यो एकदमै राम्रो छ,' फाइनल पुगेपछि ललितपुरका कप्तान ज्ञानेन्द्रले भने,'हामीले यसलाई कायम राखे फाइनलमा सहज हुनेछ ।'
यस्तै ललितपुर भैरहवाविरुद्ध लिग चरणकै नतिजालाई कायम राख्न चाहन्छ । ललितपुरले लिग चरणमा भैरहवालाई ६ विकेटले हराएको थियो ।
भैरहवा भने ललितपुरविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिने दाउमा हुनेछ ।