काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत लिग चरणको अन्तिममा काठमाडौं किङस इलाभेन र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्दैछन् ।
टियु क्रिकेटमा मैदानमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौंले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । काठमाडौंले फिल्डिङ रोजेपछि पारस खड्काको विराटनगरले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
यस खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ । यसै खेलबाट क्वालिफायर पुग्ने एक टोली र प्ले अफ पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।
विभिन्न ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गरिरहेको ईपीएलमा प्ले अफ पुग्ने तीन टोलीको तय भईसकेको छ । काठमाडौंसहित ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्स प्ले अफ पुगिसकेको छ । ललितपुर भने शीर्ष दुईमा पर्दै क्वालिफायर नै पुगिसकेको छ ।
अब साविकको विजेता विराटनगर र चितवन टाइगर्समध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । लगातार पाँच खेल गुमाएको पोखरा भने बाहिरिसकेको छ ।
कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई प्ले अफ पुग्न काठमाडौंविरुद्ध स्पष्ट जित निकाल्नु पर्ने हुन्छ । पराजित भएमा रन रेटमा भर पर्नु पर्ने हुन्छ ।
चितवनका लागि भने प्ले अफमा पुग्न काठमाडौंविरुद्ध विराटनगर पराजित हुनु पर्नेछ । विराटनगरले जितेमा चितवनको प्ले अफ सम्भावना सकिने छ । विराटनगर ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ । समान अंक जोडेको चितवन पुछारमा छ ।
यता, काठमाडौं भने विराटनगरलाई हराएर क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौं ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । आज विराटनगरलाई हराएमा काठमाडौं ५ खेलबाट ८ अंक जोड्दै शीर्ष दुई स्थानमा रहदै क्वालिफायरमा पुग्नेछ ।
ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्ने हुन्छ ।
यस्तै लिगको तेस्रो र चौथो टोलीले भने क्वालिफायर-२ का लागि इलिमिनेटर खेल्नेछ । इलिमिनेटरमा जित निकाल्ने टोलीले क्वालिफायर -२ मा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसंग खेल्नेछ ।