काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेपछि चितवन टाईगर्सका कप्तान पृथु बास्कोटाले उपाधि होडको आशा जोगाएको बताएका छन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार साविकको विजेता विराटनगर वारिवर्सलाई ५ रनले हराएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै कप्तान बास्कोटाले टिमको उपाधि होड कायम रहेको बताएका हुन् ।
'लगातार तीन खेलको हारले उपाधिमा झिनो आशा बाँकि थियो,' कप्तान बास्कोटाले भने, 'त्यो आशालाई आजको जितले दोब्बर बनाएको छ ।'
चितवनले अब भोलि (शनिबार) पोखरा राईनोजसंग खेल्दैछ । उक्त खेलमा जित हात पारे चितवनको प्ले अफ सम्भावना रहनेछ । पराजित भए चितवनको प्ले अफ सम्भावना सकिने छ ।
तर, कप्तान बास्कोटाले पोखराविरुद्धको खेलमा जित निकाल्दै प्रतियोगिताको प्ले अफमा पुग्ने बताए ।
'प्रतियोगितामा हामीले उत्कृष्ट प्रदर्शन गर्ने समय आएको छ । अब आउने खेलमा हाम्रो उत्कृष्ट प्रदर्शन रहनेछ,' कप्तान बास्कोटाले भने ।
चितवन आफ्नो पहिलो खेलमा ललितपुरसंग ११ रनले पराजित भएको थियो । यस्तै काठमाडौं किङससंग ६ विकेट र भैरहवासंग १२ रनमा पराजित भएको थियो ।