काठमाडौं । इंग्लिश ब्याट्सम्यान जोन सिमप्सनले अर्धशतकीय इनिङस खेलेपछि टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई जितका लागि १९७ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पृथु बास्कोटाको टिम चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९६ रन बनायो । चितवनको फराकिलो स्कोरमा सिमप्सनले ७८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन जोड्दा ओपनर सन्दीप सुनारले ३० रन बनाए ।
जर्ज स्कट २४ रनमा अविजित रहदा पाउल स्टर्लिङले १५ रन जोडे । विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले एक एक विकेट लिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् । दुवै टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
विराटनगर ३ खेलमा दुई जितसहित ४ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । आज चितवनलाई हराएर विराटनगर प्ले अफमा पुग्न चाहन्छ ।
यता, अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवन पहिलो जितको खोजीमा हुनेछ । र, प्ले अफको गणितीय सम्भावना बोकेको चितवन उक्त सम्भावनालाई जीवित राख्न चाहन्छ ।