काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत शुक्रबार (आज) दुई खेल संचालन हुँदैछ ।
शुक्रबार साविकको विजेता विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा पोखरा राइनोज र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले पृथु बास्कोटाको चितवनसंग खेल्नेछ । दुई टोलीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
बुधबार दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् । दुवै टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
विराटनगर ३ खेलमा दुई जितसहित ४ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । आज चितवनलाई हराएर विराटनगर प्ले अफमा पुग्न चाहन्छ ।
यता, अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवन पहिलो जितको खोजीमा हुनेछ । र, प्ले अफको गणितीय सम्भावना बोकेको चितवन उक्त सम्भावनालाई जीवित राख्न चाहन्छ ।
यस्तै बुधबार हुने दोस्रो खेलमा केली कोएट्जरको पोखराले सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौंसंग खेल्नेछ । दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ ।
यस खेल दुवैको लागि महत्वपूर्ण रहेको छ । पोखरा अघिल्ला तीन खेलको पराजयलाई अन्त्य गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो काठमाडौंविरुद्ध पोखरालाई कठिन हुनेछ ।
तीन खेलमा अंक जोड्न नसकेको पोखरा पुछारमा छ । प्ले अफको गणितीय संभवाना बोकेको पोखरा काठमाडौंसंग पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ ।
यता, २ खेलमा २ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ। आज पोखरालाई हराएर काठमाडौं प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ ।
ईपीएलको यस सिजन ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सले प्ले अफमा स्थान पक्का गरिसकेका छन् ।