काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेपछि ललितपुर प्याट्रीयट्स कप्तान ज्ञानेन्द्र मल्लले टिमको लक्ष्य शीर्ष दुईमा पुग्दै फाइनल खेल्ने रहेको बताएका छन् ।
बुधबार भएको चौथो खेलमा काठमाडौं किङ्स इलाभेनलाई १० विकेटले पराजित गर्दै ललितपुरले एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।
प्ले अफमा पुगेपछि कप्तान ज्ञानेन्द्रले भने, 'हामीले पहिलो खेलमा हार व्यहोर्दा केहि असहज होला जस्तो लागेको थियो तर, भएन । हामीलाई लगातार तीन खेलमा सफलता मिल्यो । हामी प्ले अफमा पुग्न सफल भयौं ।'
तर, कप्तान ज्ञानेन्द्रले प्ले अफमा पुगेर मात्र टोलीको लक्ष्य पुरा नहुने बताउदै शीर्ष दुईमा पुग्दै फाइनल खेल्ने लक्ष्य रहेको बताए ।
'प्ले अफमा मात्र पुगेर हुँदैन । अझै गर्नु पर्ने हुन्छ । अब भैरहवाबिरुद्धको खेलमा जित निकाल्दै अन्तिम दुईमा आफ्नो स्थान बनाउने हाम्रो मुख्य योजना हुनेछ । शीर्ष दुईमा पुगे फाइनल पुग्न एक जितले पुग्नेछ,' कप्तान ज्ञानेन्द्रले भने ।
ईपीएलको नियम अनुसार प्ले अफको शीर्ष दुई टोलीबीच हुने पहिलो क्वालिफायरको विजेता टोलीले फाइनलमा स्थान बनाउने छन् । पराजित हुनेले इलिमिनेटर खेल्नेछ ।
ललितपुरले अब अन्तिम खेलमा आइतबार बलियो टोली भैरहवा ग्लाडीयटर्ससंग प्रतिस्पर्धा गर्दैछ । भैरहवा पनि दुई खेल अगावै प्ले अफमा पुगीसकेको छ ।
यस्तै कप्तान ज्ञानेन्द्रले टिमका सबै खेलाडीको मेहेनतले टोलीले प्ले अफ यात्रा तय गरेको बताए ।
पहिलो खेलमा विराटनगरसंग पराजित भएपनि त्यसपछिका तीन खेलमा लगातार जित निकाल्दै ललितपुरले प्ले अफमा स्थान बनाएको हो । ललितपुरले ४ खेलबाट ६ अंक जोडेको छ ।