काठमाडौं । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्स तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा काठमाडौं किङ्स इलाभेनलाई १० विकेटले पराजित गर्दै ललितपुरले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।
टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ११० रनको सामान्य लक्ष्य ललितपुरले १० ओभर ३ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । ललितपुरको जितमा भारतीय ब्याट्सम्यान गौरव तोमार र जय किशन कोल्शावालाले पहिलो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे ।
तोमारले ८० रनको अविजित अर्धशतकीय इनिङस खेल्दा कोल्शावालाले अविजित २७ रन बनाए । गौरवले ३५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे । गौरव ईपीएल क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको शीर्ष स्थानमा छन् । गौरवले ४ खेलमा १९६ रन जोडेका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान केभिन ओ ब्रोएनले सर्वाधिक ४२ रन जोडे । कप्तान सोमपाल कामी घाइते हुँदै टिमबाहिर रहेपछि केभिनले कप्तानी गरेको हो । यस्तै सिधान्त लोहनीले २१ रन जोड्दा संसाद शेखले १० रन बनाए ।
ललितपुरका पवन सर्राफले ३ तथा राशिद खान र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए ।
जितसंगै ललितपुरले ४ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो । ललितपुर अब अन्तिम खेलमा भैरहवासंग खेल्नेछ ।
काठमाडौंको भने यो पहिलो हार हो । काठमाडौंले दुई खेलबाट २ अंक जोडेको छ । काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो । काठमाडौं पनि प्ले अफ सम्भावना कायम रहेको छ ।