काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स इलाभेनले ललितपुर प्याट्रीयट्सलाई जितका लागि ११० रनको मध्यम लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको केभिन ओ ब्रोएनको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाउन सक्यो । काठमाडौंले दिएको ११० रनको लक्ष्यसहित ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले केहि बेरमा ब्याटिङ गर्नेछ ।
काठमाडौंका लागि कप्तान केभिन ओ ब्रोएनले सर्वाधिक ४२ रन जोडे । कप्तान सोमपाल कामी घाइते हुँदै टिमबाहिर रहेपछि केभिनले कप्तानी गरेको हो । यस्तै सिधान्त लोहनीले २१ रन जोड्दा संसाद शेखले १० रन बनाए ।
ललितपुरका पवन सर्राफले ३ तथा राशिद खान र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए ।

यस खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरको यो चौथो खेल हो । ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ । यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ ।
पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो ।
यता, काठमाडौंको भने यो दोस्रो खेल हो । काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो ।