काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई जितका लागि ९२ रनको सामान्य लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पारस खड्काको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाउन सक्यो ।
विराटनगरका लागि भान डेर मेर्वीले २५ रन जोड्दा करण केसीले १८ रन जोडे । यस्तै सुमित महर्जनले १५ रन जोड्दा हरि बहादुर चौहानले अविजित १३ रन बनाए ।
विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका लागि मोहमद नाभिदले उत्कृष्ट बलिङ गरे । नाभिदले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले २/२ विकेट लिए ।
लिगमा दुई दुवै अपराजित रहेको छ । दुई खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो र समान अंकसहित विराटनगर तेस्रो स्थानमा छ । विजेता टोलीले प्ले अफको यात्रा तय गर्नेछन् ।
पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो ।
तेस्रो खेलका लागि मैदान उत्रदा दुवै टोलीले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस्तोमा दुई टोलीबीचको खेल रोमान्चक हुने देखिएको छ । दुई टोली गत बर्षको फाइनलिस्ट समेत हो । विराटनगरले भैरहवालाई हराएर उपाधि जितेको थियो ।