काठमाडौं । बलरको काम मुख्य त बिपक्षी ब्याट्सम्यानको विकेट लिने हो । तर, यतिमा मात्र सिमित छैन् बलरको भुमिका । कतिपय बलरले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टिमलाई हारबाट बचाएको उदाहरण पनि छ ।
राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगरका बलर करण केसीले पनि यस्तै प्रदर्शन गरेका छन् । नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी करणले सोमबार सुपर ओभरमा सुपर प्रदर्शन गर्दै टिमलाई जित दिलाएका छन् ।
टियु क्रिकेट मैदानमा पोखरा राईनोजविरुद्ध सुपर ओभरमा बलिङ अलराउन्डर करणले विस्फोटक ब्याटिङ गर्दै २० रन बनाए । सुपर ओभरमा कप्तान पारस खड्कासंग क्रिजमा आएका करणले उत्कृष्ट प्रदर्शन गरे । करणले पोखराका बलर पाउल कलिनको बलिङमा विस्फोटक ब्याटिङ गरेका हुन ।
सुपर ओभरको ६ बल कै सामना गरेका करणले दुई छक्का र ४ बलमा समान २/२ रन जोडे । करणले कलिनको बलिङमा २–२–६–२–६–२ को फिगरमा रन जोडेका थिए । करणको उच्च प्रदर्शनपनि विराटनगरले पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखराले मात्र १३ रन जोड्न सक्यो ।
सुपर ओभरमा उत्कृष्ट पदर्शन गरेका करण खेलमा प्लेयर अफ दि म्याच समेत चिनिए । जारी लिगमा करण दोस्रो पटक प्लेयर अफ दि म्याच बनेका हुन् ।
सुपर ओभरमा उत्कृष्ट ब्याटिङ गरेपछि करणले रन कसरी बनाउने भन्ने कुरामा ध्यान दिएर खेल्ने गरेको कारण राम्रो भएको बताए ।
'मैले बलर हेरेर खेल्दैन, बलिङ हेरेर खेल्ने गर्छु, मेरो एरियामा बल आयो भने मेरो जसरी पनि छक्का हान्नु पर्छ भन्ने सोच हुन्छ,' करणले भने ।
करणले ललितपुरविरुद्धको पहिलो खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १९ बलमा अविजित ३६ रन बनाएका थिए । बलिङमा दुई विकेट लिएका थिए ।
'ब्याटिङ गरिरहदा बलरले राम्रो बल फाल्यो भने उसको लागि राम्रो, नराम्रो बल फाले उसको लागि नराम्रो । मलाई बलको स्पिटमा कुनै समस्या छैन्,' सुपर ओभरको प्रदर्शनपछि करणले थपे ।
करणले आफुले बलिङ र ब्याटिङ दुवैमा ध्यान दिने गरेको समेत बताए । उनले टी-ट्वान्टीमा अलराउन्डरको महत्व हुने कारण दुवै पक्षलाई समान मान्यता दिएको बताए ।
करणले पछिल्लो समय नेपाली क्रिकेटमा बलिङ र ब्याटिङमा उतिकै राम्रो प्रदर्शन गरिरहेका छन् । उनले गत फागुनमा नामिबियामा सम्पन्न डिभिजन -२ मा समेत विस्फोटक ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए ।
क्यानडाविरुद्ध करणले दशौँ नम्वरमा ब्याटिङ गर्दै अविजित ४२ रन बनाएर नेपाललाई जित दिलाएका थिए । करणले सन्दीप लामिछानेसँग दशौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरेर सनसनी मच्चाएका थिए । क्यानडाविरुद्धको करणको त्यहि प्रदर्शनले नेपाल विश्वकप छनोटमा पुग्दै एकदिवसीय मान्यता समेत पाउन सफल भएको छ ।