काठमाडौं । पोखरा राइनोजले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा मंगलबार लगातार तेस्रो हार व्यहोर्यो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साविकको विजेता विराटनगर वारिवर्ससंग सुपर ओभरमा पराजित हुँदै पोखराले लगातार तेस्रो हार व्यहोरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र ८४ रन बनाउन सक्यो । सुरुवाती दुई खेलमा अर्धशतकीय इनिङस खेलेका रिचर्ड लेभीले मात्र ३ रनमा आउट हुँदा पोखराले उच्च स्कोर बनाउन सकेनन् ।
तर, पोखराले दिएको ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभर ३ बलमा अलआउट हुँदै ८४ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा विराटनगरले २० रन जोड्दै २१ रनको लक्ष्य दिएको थियो । विराटनगरको लागि करण केसीले २० रन जोडे । जवाफमा पोखराले १३ रन बनाउन सक्यो ।
यो हारसंगै पोखराको उपाधि होड कमजोर बनेको छ । पोखराको दोस्रो चरणको यात्रा समेत कमजोर बनेको छ ।
लगातारको तीन हारपछि पोखराका कप्तान केली कोएट्जरले सोचेको जस्तो प्रदर्शन गर्न नसक्दा टिमको उपाधि होड कमजोर बनेको बताए ।
'हामीले सोचे अनुरुप खेल पस्किन सकेनौं,' कप्तान कोएट्जरले भने, 'यसले गर्दा उपाधि होडमा हामीलाई केहि असर पर्न सक्छ ।'
अब पोखरालाई दोस्रो चरणमा पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाब बढेको छ । यस्तै अन्य खेलको नतिजा पनि आफु अनुकुल आउनु पर्ने हुन्छ ।
अब पोखराले शुक्रबारकाठमाडौं किङस ईलाभनेसंग खेल्नेछ ।