काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सले पृथु बास्कोटाको चितवन टाइगर्सलाई १४४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभर ३ बलमा अलआउट हुँदै १४३ रनमा समेटियो । भैरहवाका लागि रायन टेन डेसकाटेले ३५ रन जोड्दा प्रदीप सिंह ऐरीले २६ रन जोडे । यस्तै रबी इन्दर सिंहले २५ रन जोड्दा आरिफ शेखले १८ रन बनाए ।
चितवनका सागर ढकालले ३ तथा जर्ज स्कटले २ विकेट लिए ।
चितवनविरुद्ध आज भैरहवा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । साबिकको उपविजेता समेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो ।
चितवन भने पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेल गुमाएको चितवनलाई भैरहवाविरुद्ध जित्नै पर्ने बाध्यता छ । भैरहवाविरुद्धको खेल गुमाए चितवनको दोस्रो चरणको यात्रा गणितीय मात्र बाँकी रहेनेछ ।
चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौंसंग पराजित भएको थियो ।