काठमाडौं । दक्षिण अफ्रिकन ब्याट्सम्यान रिचर्ड लेभीले अर्धशतकीय इनिङस खेलेपछि पोखरा राइनोजले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सलाई जितका लागि १६७ रनको मध्यम लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले लेभीको उत्कृष्ट ब्याटिङसंगै पुरै २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार गर्यो । पोखराका लागि लेभीले ८४ रनको योगदान गरे ।
आक्रामक ब्याटिङ गरेका ओपनर लेभीले ३९ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । लेभीको यो लगातार दोस्रो खेलमा अर्धशतक हो । लेभीले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्सविरुद्ध ७९ रन जोडेका थिए ।
पोखराका लागि लेभीले कप्तान केली कोएट्जरसंग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । कोएट्जर १९ रनमा आउट भए ।
यस्तै पोखराका लागि विनोद भण्डारीले अविजित ३४ रन जोड्दा सुनिल धमलाले १० रन जोडे । ललितपुरका पवन सर्राफले ३ विकेट लिए ।
पहिलो खेलमा भैरहवासंग पराजित पोखरालाई ललितपुरविरुद्ध जित्नै पर्ने बाध्यता रहेको छ । यता, ललितपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।