काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिग बिग बास खेल्न आज अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।
यसै साताबाट सुरु हुने बिग बास लिगका लागि सन्दीप आज राति अष्ट्रेलिया जाने भएका हुन् । सन्दीप मेलबर्न स्टार्समा यसै सिजन अनुबन्धित भएका हुन् । बिग बास लिग डिसेम्बर १९ बाट सुरु हुनेछ ।
सन्दीप टिमसंगको अभ्यासका लागि एक साता अगावै अष्ट्रेलिया जान लागेका हुन् । राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुरमा रहेका सन्दीप ईपीएल नसकिदै अष्ट्रेलिया जान लागेका हुन् ।
सन्दीपले ललितपुरबाट मात्र २ खेल खेलेका छन् । सन्दीपले आइतबार भएको दोस्रो खेलमा सन्दीपले ३ विकेट लिएका थिए ।
सन्दीपले आफु टिममा पर्ने लक्ष्यसहित अष्ट्रेलिया जान लागेको बताए ।
'एक टिममा मात्र २ विदेशी खेलाडीले खेल्न पाऊने छ । त्यसैले निकै गार्हो छ,' सन्दीपले भने, 'अभ्यास र खेलमा राम्रो प्रदर्शन गर्नु पर्छ । पाएको मौकालाई सदुपयोग गर्नुपर्छ । टिममा पर्ने मौका छ ।'
यस्तै सन्दीपले अष्ट्रेलियाको विकेटमा आफुले खेलिसकेको कारण आफुलाई गार्हो नहुने बताए ।
'मैले यसअघि थुप्रै फ्रेन्चचाइज लिग खेलेको छु । बिग बासमा त्यसलाई कायम राख्ने छु,' सन्दीपले भने ।
यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए । सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए ।
बिग बास लिगकै दौरान सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । सन्दीपले बिग बासको पाँच देखि ६ खेलपछि बंगलादेश जानेछन् । बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् ।
यस सिजन निकै व्यस्त रहेका सन्दीपले हालै युएईमा टी-१० लिग खेलेका थिए । यस्तै सन्दीपलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटलले रिटेन गरेको छ ।