काठमाडौं । साविकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराएर विजयी सुरुवात गरेको हो ।

टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १०५ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि करण केसीले उत्कृष्ट ब्याटिङ गरे । ३ छक्का र १ चौका प्रहार गरेका करणले अविजित ३६ रन जोडे । यस्तै आसिफ शेखले १९, अनिल कुमार साहले ११ रन जोडे । कप्तान पारस ८ रनमा आउट भए ।
ललितपुरका गौरव तामोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन जोडे । यस्तै सन्नी पटेलले २० तथा पवन शार्रफले १४ रन बनाए । विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले २/२ विकेट लिए ।

जितसंगै विराटनगरले २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
लिग अन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्नेछ ।

यसअघि युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ ।

यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज रहेका छन् ।
खेल तालिका हेर्नुहोस् -
