काठमाडौं । साविकको विजेता तथा नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ ।
बुधबार भएको खेलमा साहिद अफ्रिदिको टिम पख्तुनलाई ८ विकेटले हराउदै केरलाले विजयी सुरुवात गरेको हो ।
सारजाहमा पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६ रन जोड्दा केइरन पोलार्डले अविजित ११ रन बनाए । यस्तै पाउल स्ट्रलिङले ४० रन बनाउदा क्रिस गेल १३ रन जोडेर आउट भए । पख्तुनका अन्द्र्यु डसन र सोहिल खानले १/१ विकेट लिए ।
यसअघि नेपाली युवा लेग स्पिनर सन्दीप चम्किएपछि पख्तुनले पुरै १० ओभर खेल्दै ५ विकेट गुमाएर १०९ रन जोडेको थियो । पख्तुनलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिए ।
सन्दीपले डेब्यु खेलको आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएका सन्दीपले अन्तिम बलमा समेत विकेट लिए ।
चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले आक्रामक ब्याटिङ गरिरहेका वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियनको बाटो देखाए । फ्लेचर ३२ रनमा आउट भए । त्यसपछि अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे । यस्तै छैटौं ओभरको चौथो बलमा सन्दीपले मुहमद कलिमलाई सुन्य रनमा आउट गरेका थिए ।
यस्तै पख्तुनका लागि क्यामरुन डेलपोर्टले अविजित २८ तथा अन्द्र्यु डसनले २५ रन जोडे ।
जितसंगै केरलाले २ अंक जोडेको छ । केरलाले दोस्रो खेलमा बिहिबार सिन्धिसको सामना गर्नेछ ।
क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता खेल्न सन्दीप आइतबार युएई गएका थिए । प्रतियोगिताको लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।
इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए ।सन्दीप मंगलबार मात्र पाकिस्तान सुपर लिगका लागि लाहोर कालान्दरमा अनुबन्धित भएका थिए ।
८ टोलीको सहभागिता रहेको लिग १० ओभरको हुनेछ । पहिलो खेलमा राजपुट्सले सिन्धिसलाई १० विकेटले हराएको छ ।