एजेन्सी । भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली अष्ट्रेलिया विजयी भएको छ । बुधबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई डीएल पद्दतिको आधारमा ४ रनले पराजित गरेको हो ।
ब्रिसबेनमा बर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले दिएको १७४ रनको लक्ष्य पछ्याएको भारतले पुरै १७ ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाउन सक्यो ।
भारतका लागि शिखर धवनले ७६ रनको अर्धशतकीय इनिङस खेलेप्नी टोलीलाई जित दिलाउन सकेनन् । यस्तै भारतका दिनेश कार्तिकले ३० तथा रिशाब पन्तले २० रन जोडे । अष्ट्रेलियाका आडम जाम्पा र मार्कुस स्टोनीसले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १७ ओभरको ब्याटिङ गरिरहदा खेल बर्षाले रोकिएको थियो । जतिबेला अष्ट्रेलियाले ४ विकेटको क्षतिमा १५८ रन जोडेर खेलिरहेको थियो । त्यसपछि वर्षाले खेल भएन र भारतले १७४ रनको लक्ष्य पाएको थियो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४६ तथा क्रिस लिनले ३७ रन जोडे । त्यस्तै मार्कुस स्टोनीसले अविजित ३३ रन जोडेका थिए । भारतका कुलदिप यादबले २ विकेट लिएका थिए ।
यो जितसंगै अष्ट्रेलियाले ३ खेलको टी-ट्वान्टी सिरिजमा १ - ० को अग्रता बनाएको छ ।