एजेन्सी । ‘बल टेम्परिङ’ काण्डमा दोषी पाएपछि प्रतिबन्धमा रहेका कप्तान स्टेभन स्मिथ,उपकप्तान डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टको प्रतिबन्धबारे समिक्षा नहुने भएको छ ।
क्रिकेट अष्ट्रेलियाको बोर्ड बैठकले दोषी खेलाडीहरुको प्रतिबन्धबारे पुर्विचार नगर्ने निर्णय गरेको छ । क्रिकेट अष्ट्रेलियाको निर्णयसंगै तीनै खेलाडीले पूर्ण प्रतिबन्ध खेप्नुपर्ने भएको छ ।
गत चैतमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि कप्तान स्मिथ,उपकप्तान वार्नर र बेनक्राफ्ट विवादमा मुछिएका थिए ।
केपटाउनमा भएको खेलको दौरान ब्याट्सम्यान बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए । बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेको भिडियो सार्वजनिक भएपछि क्रिकेट अष्ट्रेलियाले कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १२ महिनाको प्रतिबन्ध लगाएको थियो । यस्तै बेनक्राफ्टले ७ महिनाको प्रतिबन्ध बेहोरेका थिए ।
तर, अष्ट्रेलियाका क्रिकेट खेलाडीहरुको संस्था अष्ट्रेलियन क्रिकेटर एसोसिएसन (एसीए) ले ‘बल टेम्परिङ’ काण्डमा दोषी पाएपछि प्रतिबन्धमा रहेका खेलाडीको प्रतिबन्धबारे समिक्षा गर्न माग गरेका थिए ।
एसीएले प्रतिबन्धमा परेका खेलाडीले धेरै प्रतिबन्ध बेहोरिसकेको कारण अब क्रिकेट अष्ट्रेलियाले प्रतिबन्धबारे समिक्षा गर्नु पर्ने बताएको थियो ।