काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछाने तयारी पोशाक कम्पनि 'शुट द्याट फिट्स' को ब्राण्ड एम्बासडर बनेका छन् । सन्दीपलाई शनिबार शुट द्याट फिट्स प्रालिले ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।
युवा लेग स्पिनर सन्दीपलाई शुट द्याट फिट्सले पाँच बर्षको लागि ब्राण्ड एम्बासडर घोषणा गरेको हो । शुट द्याट फिट्सका सीईओ ओमभक्त योगी र सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताको सर्तहरु भने खुलाइएको छैन ।
शुट द्याट फिट्सले सन्दीपलाई युएई जानु अघि ब्राण्ड एम्बासडर चयन गरेको हो । क्रिकेटकै छोटो संस्करण टी–१० लिग खेल्न सन्दीप आइतबार दुवई प्रस्थान गर्दैछन् । टी–१० लिगमा सन्दीप केरला किङसबाट खेल्नेछन् ।
कार्यक्रममा बोल्दै शुट द्याट फिट्सका सीईओ योगीले क्रिकेटले नेपाललाई विश्वमा चिनाउन सफल भएकोले प्रोत्साहन स्वरुप सन्दीपलाई ब्राण्ड एम्बासडर चयन गरेको बताए ।
यस्तै सन्दीपले यस खाले सम्मान र प्रोत्साहनले अझै राम्रो गर्न हौसला मिलेको बताए ।