नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा

काठमाडौं। नेपाललाई पेनाल्टी सुटआउटमा रोक्दै घरेलु टोली उज्बेकिस्तान २२ वर्षपछि एएफसी एसियन कपमा फर्किएको छ।
उज्बेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा शनिबार सम्पन्न समूह एचको अन्तिम खेल निर्धारित समयमा ३–३ को बराबरीमा सकिएको थियो। अंक र गोल संख्या बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
पेनाल्टी सुटआउटमा उज्बेकी गोलकिपर नायक बनिन्। पेनाल्टी स्पेलिस्ट अञ्जना रानामगर भने चल्नै सकिनन्। उनले यही प्रतियोगितामार्फत नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई पूर्णरूपमा विस्थापित गरेकी थिइन्।
उनले लाओस र श्रीलंकासँगको खेलमा पनि सुरुआती ११ बाटै आफ्नो स्थान बनाएकी थिइन्। तर, अघिल्ला दुई खेलमा खासै दु:ख गर्न नपरेको उनलाई यसपल्ट भने उज्बेक खेलाडीले निकै सास्ती दिए। फलत: नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुन पुग्यो।
उज्बेकिस्तानकी शोयिमोभा, जोइरोभा, खिक्मतोभा र अमिन्जोनोभाले पेनाल्टीबाट गोल गरिन्।
नेपालकी सविता रानामगर र गीता रानाले मात्रै गोल गरिन्। सावित्रा भण्डारीको प्रहार साइड बारमा लागेर फर्कियो। अञ्जानको फितलो प्रहार उज्बेक गोलकिपरले रोकिन्।
उज्बेकिस्तानले अन्तिमपल्ट सन् २००३ मा थाइल्यान्डमा आयोजित प्रतियोगिता खेलेको थियो। त्यसयता ६ पल्ट छनोट खेले पनि सफलता हात पार्न सकेको थियो।
यसपल्ट छनोटमा विपक्षी कमजोर हुँदा उज्बेकिस्तानले अपराजित रहँदै आफ्नो स्थान पक्का गर्न सफल भयो। उज्बेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराएको थियो।
नेपालले सुरुआतीदेखि नै फितलो प्रदर्शन गरेको थियो। खेलको दोस्रो मिनेटमै खबीबुल्लाएभाले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाइन्।
उज्बेक खेलाडीले डिबक्स बाहिरबाट प्रहार गरेको बललाई डिफेन्डर गीता रानाले हेडर गर्दै रोकेको थिइन्। तर, उनकै अगाडि खसेको बललाई खबीबुल्लाएभाले नियन्त्रणमा लिँदै सहजै प्रहार गरिन्।
उक्त शक्तिशाली प्रहारलाई रोक्न गोलकिपर अञ्जना रानामगरले कुनै मौका नै पाइनन्। उनी बल आइपुग्नु अघि नै गलत दिशामा पुगिसकेकी थिइन्। त्यसको ८ मिनेटपछि नै नेपालले अर्को गोल बेहोर्यो।
त्यो निकै सजिलो गोल रह्यो। कराचिकले बायाँ दिशाबाट मुभ बनाएकी थिइन्। तर, उनलाई रोक्ने कोही भएनन्। अनिता बस्नेत र निशा थोकर उनीसामु नै पुगे पनि गोलकिपर अञ्जनालाई बल रोक्न छाड्दिएका थिए।
कराचिकले बल गोल पोस्टतर्फ पास गरेकी थिइन्। उक्त बललाई लाइननजिक रहेकी समीक्षा घिमिरेले क्लियर गर्ने प्रयास गरेकी थिइन्। तर, उनको हल्का छोवाइले उल्टै उज्बेकिस्तानकै फाइदा पुग्यो र बलले जाली चुम्यो।
२४औं मिनेटमा उज्बेक गोलकिपरको गल्तीका कारण नेपालले गोल फर्कायो। डिबक्सबाट निकै बाहिर आएर उज्बेक गोलकिपरले बललाई क्लियर गर्ने प्रयास गरेकी थिइन्। तर, उक्त बल नजिकै रहेकी रश्मिकुमारी घिसिङसामु खस्यो।
उनले हेडरमार्फत दिएको बललाई कप्तान सावित्राले डिबक्स बाहिरबाट सहजै गोलमा परिणत गरिन्।
तर, ३९औं मिनेटमा उज्बेकले पुन: अग्रता ३–१ मा पुर्यायो। बल रोक्ने क्रममा सरस्वती हमालले ह्यान्ड गर्न पुगेपछि उज्बेकले पेनाल्टी पाएको थियो। जसलाई शोयिमोभाले सहजै गोलमा परिणत गरिन्।
उनले बललाई गोलीझैं तीव्र प्रहार गरेकी थिइन्। दायाँ भागको कुनामा गएको बललाई गोलकिपर अञ्जनाले हेरिरहनबाहेक केही गर्न सकिनन्। पहिलो हाफको अतिरिक्त समयमा उज्बेक १० खेलाडीमा समेटियो।
एर्गाशेभाले सावित्रामाथि पछाडिबाट ट्याकल गरेकी थिइन्। त्यसपछि रेफ्रीले उनलाघ दोस्रो पहेँलो कार्ड दिएकी हुन्। पहिलो हाफमा निकै फितलो प्रदर्शन गरे पनि सावित्राले नेपाललाई खेलमा फर्काइन्।
उनले ७१ र रश्मिकुमारी घिसिङले ७३औं मिनेटमा लगातर दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। जारी प्रतियोगितामा उनको यो तेस्रो ह्याट्रिक हो। उनले लाओसविरुद्धको ९–० र श्रीलंकाविरुद्धको ८–० को जितमा पनि ह्याट्रिक गरेकी थिइन्। योसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल ६८ मा पुर्याएकी छन्।







-1773819743320.jpeg&w=3840&q=75)




-1773803404132.webp&w=3840&q=75)
-1773802869633.webp&w=3840&q=75)