काठमाडौं। रियल मड्रिड दोस्रो हाफको इन्जुरी समयमा भएको तीन गोलको रोमाञ्चक खेलमा बोरुसिया डर्टमुण्डलाई ३–२ ले पराजित गर्दै शनिबार राति क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको अन्तिम पलमा मड्रिडका गोलकिपर थिबो कोर्ट्वाले मार्सेल साबिट्जरको शक्तिशाली प्रहारलाई औंलाले छेक्दै टोलीको जित सुरक्षित गरे। मड्रिडका गोन्जालो गार्सिया र फ्रान गार्सियाले पहिलो २० मिनेटभित्र गोल गर्दै २–० को अग्रता दिलाए।
डर्टमुण्डका म्याक्सिमिलियन बेयरले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै खेललाई रोचक बनाए। तर, त्यसको एक मिनेटमै प्रतिस्थापन खेलाडीको रूपमा मैदान प्रवेश गरेका किलियन एमबाप्पेले उत्कृष्ट बाइसिकल किकमार्फत गोल गर्दै मड्रिडको अग्रता पुनः दुई गोलले बढाए।
डर्टमुण्डका सेरहू गुइरासीले डीन हुइसेनको फउलमा आठौं इन्जुरी मिनेटमा पेनाल्टीमार्फत गोल गरे। हुइसेनले रातो कार्ड पाए र सेमिफाइनल खेल गुमाउने भएका छन्।
६ फिट ७ इन्च अग्ला गोलकिपर कोर्ट्वाले खेलको अन्तिम सेकेन्डमा लामो स्ट्रेच गर्दै डर्टमुण्डको सम्भावित बराबरी गोललाई छेक्दै टोलीलाई जित दिलाए।