एजेन्सी । घरेलु टोली वेष्ट इण्डिज आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा श्रीलंकालाई ८३ रनले हराउदै वेष्ट इण्डिजले अन्तिम चारको यात्रा तय गरेको हो ।
ग्रोसमा वेष्ट इण्डिजले दिएको १८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका १७ ओभर ४ बलमा अलआउट हुँदै १०४ रनमा समेटियो । श्रीलंकाका कप्तान चामरी जयनगानीले ४४ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । वेष्ट इण्डिजका क्रिस्टेन म्याथ्युजले ३ विकेट झारिन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १८७ रन जोडेको थियो । वेष्ट इण्डिजका क्रिस्टेन म्याथ्युजले ६२ रनको अर्धशतकीय इनिङस खेलिन् ।
जितसंगै समूह 'ए' मा रहेको वेष्ट इण्डिजले लगातार ३ खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । शीर्ष स्थानमा रहेको वेष्ट इण्डिजले ३ खेलबाट ६ अंक जोडेको छ ।
पराजित श्रीलंका ४ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छन् ।
वेष्ट इण्डिजको जितसंगै इंग्ल्यान्ड पनि सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलबाट ५ अंक जोडेको छ ।